काठमाडौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायका सन्दर्भमा शहीद तथा घाइते परिवारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले न्यायको सबैभन्दा ठूलो आवश्यकता आफ्ना सन्तान गुमाएका परिवारलाई हुने उल्लेख गर्दै राज्यले उनीहरूको पीडालाई केन्द्रमा राख्नुपर्ने बताए।
“न्यायको हतारो त आफ्नो सन्तान गुमाएका आमाहरूलाई हुन्छ, त्यो पीडालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भने।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबारे उठेका प्रतिशोधका आरोपबारे सोधिएको प्रश्नमा लामिछानेले सबैभन्दा पहिला शहीद परिवारको न्याय सुनिश्चित हुनुपर्ने धारणा राखे।
उनले न्याय सबैको अधिकार भए पनि शहीद परिवारको पीडा सम्बोधन गर्नु राज्यको पहिलो जिम्मेवारी भएको जोड दिए। साथै, उनले आफ्नो पार्टी र नेतृत्व सधैँ जनताको निगरानीमा रहेको उल्लेख गर्दै ‘पब्लिक अडिट’को अवधारणामा काम गरिरहेको बताए।
लामिछानेका अनुसार रास्वपाका हरेक निर्णय पारदर्शी र जनअपेक्षाअनुसार हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

