काठमाडौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफू सभामुखमा निर्वाचित भए संविधान र कानुनको परिधिभित्र रहेर न्यायपूर्ण ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले आफूलाई प्राप्त हुने जिम्मेवारीलाई निष्पक्ष र उत्तरदायी ढंगले पूरा गर्ने बताए।
उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमा उच्च राख्ने उल्लेख गरे। साथै, आफ्नो उम्मेदवारी नेपाली जनताको हित, राष्ट्रियता र राज्यका तीन अंग—कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलनलाई मजबुत बनाउन केन्द्रित रहेको दाबी गरे।
“मैले जिम्मेवारी पाएँ भने संविधान, कानुन र जनहितअनुसार व्यवस्थापिकाको काम न्यायसम्मत रूपमा गर्नेछु,” उनले भने।
सभामुख चयन प्रक्रिया अघि बढिरहेका बेला रास्वपाले आफ्नो तर्फबाट अर्याललाई उम्मेदवार बनाएको हो। उनले आफ्नो कार्यकालमा संसदलाई थप पारदर्शी, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता समेत दोहोर्याएका छन्।

