काठमाडौं,२० चैत । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्।
निर्धारित मनोनयन समयसीमाभित्र अर्यालको मात्र उम्मेदवारी परेपछि उनी स्वतः सभामुखमा चयन भएका हुन्। रास्वपाको संसदमा रहेको दुई तिहाइ नजिकको बलियो अंकगणितका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी नदिएपछि प्रतिस्पर्धा नै नदेखिएको हो।
एमालेले अन्तिम समयमा उपाध्यक्ष गुरुप्रसाद बराललाई अघि सार्ने तयारी गरे पनि दलहरूबीच सहमति नजुटेपछि अन्ततः उम्मेदवारी दर्ता नगर्ने निर्णय गरिएको बताइएको छ।
सभामुख निर्विरोध भए पनि यसको औपचारिक घोषणा आगामी आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ।
सभामुख चयनसँगै अब संसदको ध्यान उपसभामुखतर्फ केन्द्रित भएको छ। संवैधानिक व्यवस्था अनुसार फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्ने भए पनि केही अवस्थामा कानुनी व्याख्याका आधारमा एउटै दलबाट पनि सम्भव हुने उल्लेख गरिएको छ।
यसबीच, सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख पदमा आफ्नो दाबी प्रस्तुत गरिसकेको छ। उपसभामुख पद संवैधानिक निकायका नियुक्ति प्रक्रियामा समेत प्रभावकारी हुने भएकाले यसलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
सभामुखमा निर्वाचित भएपछि अर्यालले शपथ लिएर औपचारिक जिम्मेवारी सम्हाल्नेछन्, जसपछि उपसभामुख निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

