काठमाडौं,०२ वैशाख । संयुक्त अरब इमिरेट्स सरकारले रमजान पर्वको अवसर पारेर १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। विभिन्न कारणले कारागारमा सजाय भोगिरहेका नेपालीहरूलाई मानवीय आधारमा माफी प्रदान गरिएको हो।
परराष्ट्र मन्त्रालय का अनुसार यूएईको यस कदमप्रति नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस निर्णयले नेपाल–यूएई सम्बन्धलाई थप सुदृढ र सौहार्दपूर्ण बनाउने विश्वास व्यक्त गरिएको छ।
नेपाल सरकारको पहल र अबुधाबीस्थित नेपाली दूतावासको सक्रिय समन्वयपछि आममाफी सम्भव भएको जनाइएको छ। यसले विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षणमा कूटनीतिक प्रयास प्रभावकारी भएको संकेत दिएको छ।
यूएईको यो मानवीय निर्णयले दुई देशबीचको आपसी विश्वास र सहकार्य अझ बलियो बन्ने अपेक्षा गरिएको छ।

