काठमाडौं,२३ वैशाख । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको सक्रिय निगरानीका क्रममा विभिन्न नियम उल्लङ्घन गर्ने २ हजार २१८ चालकलाई कारबाही गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८६ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १७० जना, ट्राफिक बत्ती र संकेत उल्लङ्घन गर्ने १४८ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जना कारबाहीमा परेका छन्।
त्यस्तै लेन अनुशासन तोड्ने ९४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, फुटपाथमा सवारी पार्किङ गर्ने १३८ जना र एकतर्फी सडकमा सवारी चलाउने ११० जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १२५ जना चालक समेत कारबाहीको दायरामा आएका छन्।
ट्राफिक प्रहरीले सुरक्षित र व्यवस्थित यातायातका लागि नियम पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।


