काठमाडौँ,१५ वैशाख । भीम रावल ले नेपाली कम्युनिस्ट पार्टी ले दिएको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी अस्वीकार गरेका छन्। आफूलाई पूर्वपरामर्श बिना जिम्मेवारी तोकिएको भन्दै उनले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका हुन्।
सामाजिक सञ्जाल Facebook मार्फत प्रतिक्रिया दिँदै रावलले पार्टीको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन्। “मसँग कुनै परामर्श नगरी जिम्मेवारी तोकिएको सार्वजनिक भएपछि यसबारे स्पष्ट पार्नुपरेको हो,” उनले उल्लेख गरेका छन्।
उनले सुदूरपश्चिममा नेतृत्व चयन गर्दा पुस्तान्तरणको विषयलाई पनि उठाएका छन्। अन्य प्रदेशमा युवा पुस्तालाई नेतृत्व दिइएको अवस्थामा सुदूरपश्चिममा भने पुरानो पुस्तालाई जिम्मेवारी दिनु उपयुक्त नभएको उनको धारणा छ। “त्यहाँ पनि युवा पुस्तालाई नै अवसर दिनु उचित हुन्छ,” उनले बताएका छन्।
यसअघि पार्टीले सुदूरपश्चिम प्रदेशका लागि रावललाई इन्चार्ज तथा भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ र खगराज भट्टलाई सहइन्चार्ज तोकेको थियो। साथै हरिराम चौधरीलाई प्रदेश संयोजक र लालबहादुर खड्कालाई सहसंयोजकको जिम्मेवारी दिइएको थियो।
रावलको सार्वजनिक असन्तुष्टिले पार्टीभित्रको निर्णय प्रक्रिया र नेतृत्व चयनबारे पुनः बहस सुरु हुने संकेत देखिएको छ।

