बीरगन्ज,२३ वैशाख । नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका सवारीसाधन अब अनलाइनमार्फत दर्ता र राजस्व भुक्तानी गर्न सकिने भएको छ। भन्सार विभाग ले यस्तो डिजिटल प्रणाली लागू गर्दै सेवा सुरु गरेको हो।
यो नयाँ व्यवस्था अर्थ मन्त्रालय अन्तर्गत विकास गरिएको हो, जसको औपचारिक शुभारम्भ अर्थमन्त्री स्वर्णिम वाग्ले ले गरेका छन्।
नयाँ प्रणालीसँगै अब नेपालमा सवारीसाधन लिएर आउने पर्यटकले भन्सार नाकामा पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसअघि अस्थायी इजाजतपत्र लिन, नवीकरण गर्न वा जरिवाना तिर्न अनिवार्य रूपमा भन्सार कार्यालय धाउनुपर्ने बाध्यता थियो।
अब भने पर्यटकहरूले घरमै बसेर अनलाइनमार्फत सवारीसाधनको विवरण भर्न, शुल्क तिर्न र इजाजतपत्र प्राप्त गर्न सक्नेछन्। भुक्तानीपछि प्राप्त हुने क्यूआर कोड देखाएर सवारीसाधन नेपाल प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ।
भन्सार विभागका अनुसार ‘अस्थायी सवारी आयात (TIV)’ मोड्युलमार्फत यो सेवा सञ्चालनमा ल्याइएको हो। यसले प्रक्रिया पारदर्शी, छिटो र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ। साथै, यात्रा अवधि सकिएपछि पनि अनलाइनमार्फतै म्याद थप गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।
सरकारले यसलाई सुशासन र डिजिटल सेवामार्फत सेवा प्रवाह सुधार गर्ने अभियानको हिस्सा मानेको छ। प्रारम्भिक चरणमा यो सेवा भारतीय र बंगलादेशी पर्यटकका सवारीका लागि लागू गरिएको छ भने आवश्यकताअनुसार अन्य देशका सवारीमा पनि विस्तार गरिने बताइएको छ।


