काठमाडौं, २३ वैशाख । राजधानीको अत्यन्त व्यस्त व्यापारिक क्षेत्र इन्द्रचोक मा दिउँसै हतियार देखाएर सुनचाँदी पसल लुट्ने प्रयास भएको छ। घटनामा संलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार वैशाख १७ गते भेडासिंह स्थित ‘नैना एन्ड इशान ज्वेलरी’मा पसेर पेस्तोल देखाउँदै लुटपाट गर्ने प्रयास गरिएको थियो। तर पसल सञ्चालकको साहसिक प्रतिकारका कारण उनीहरूको योजना असफल भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा ललितपुर महालक्ष्मी नगरपालिका–६ का २९ वर्षीय हरिकृष्ण महर्जनसहित विकेश राजवाहक र अरुण भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पक्राउ परेका अरुण भुजेलको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोल बरामद गरिएको छ। घटनापछि प्रहरीबाट बच्न हरिकृष्ण महर्जनले आफ्नो लुगा फेरेर हुलिया परिवर्तन गरेको खुलेको छ।
प्राविधिक निगरानी र अनुसन्धानको आधारमा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको छ।
दिउँसै हतियार देखाएर भएको यस घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।