बीरगन्ज,२४ वैशाख । सीमावर्ती क्षेत्रका नागरिकको लामो समयदेखिको माग तथा स्थानीय आर्थिक गतिविधिलाई सहज बनाउने उद्देश्यसहित मटिअर्वा छोटी भन्सार सञ्चालन हुने भएको छ। माननीय सांसद अरविन्द साहको विशेष पहलमा नेपाल सरकारले सञ्चालनमा रहेका १८ वटा छोटी भन्सारको सूचीमा मटिअर्वा छोटी भन्सारलाई समावेश गरेको हो।
यस निर्णयसँगै अब भन्सार सञ्चालनका लागि आवश्यक प्रशासनिक प्रक्रिया अगाडि बढाइने जनाइएको छ। भन्सार सञ्चालन भएपछि सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधि थप व्यवस्थित हुनुका साथै स्थानीय व्यवसायी र सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी भन्सार क्षेत्रको भौतिक पूर्वाधार निर्माण, कार्यालय व्यवस्थापन तथा आवश्यक सेवा विस्तारका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्न पनि सांसद साहले सरकारसँग माग गर्नुभएको सांसद सचिवालयले जनाएको छ।
स्थानीयवासीले यस निर्णयलाई सीमावर्ती क्षेत्रको आर्थिक विकास र राजस्व व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन्।


