जीतपुरसिमरामा जथाभावी फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना, कडा अभियान सुरु

spot_img

बीरगन्ज,२४ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय स्वच्छता कायम गर्न जथाभावी फोहोर फाल्ने र प्रदूषण फैलाउनेलाई कडा कारबाही गर्ने अभियान सुरु गरेको छ। उपमहानगरले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुन उल्लंघन गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिने जनाएको छ।

फोहरमैला व्यवस्थापन ऐन २०६८ र उपमहानगरको फोहरमैला व्यवस्थापन कार्यविधि २०७९ अनुसार सडक, नाला, चोक, फुटपाथ तथा नदी–नालामा फोहोर फाल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
सूचनाअनुसार सामान्य फोहोर जथाभावी फाल्ने व्यक्तिलाई पहिलो पटक ५०० रुपैयाँ जरिवाना गरिनेछ भने पुनः गल्ती दोहोरिए प्रत्येक पटक जरिवाना रकम दोब्बर हुँदै जानेछ। सार्वजनिक स्थलमा स्वास्थ्यमा गम्भीर असर पार्ने खालका फोहोर फालेमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै, उद्योग तथा स्वास्थ्य संस्थाहरूले हानिकारक फोहोर गलत तरिकाले व्यवस्थापन गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना र अनुमति रद्दको सिफारिससमेत गरिने उपमहानगरले जनाएको छ। चुरोट र गुट्खाका खोल जस्ता फोहोर फाल्नेलाई पनि १०० रुपैयाँ जरिवाना तोकिएको छ।

नियम कार्यान्वयनका लागि नगर प्रहरी, अनुगमन टोली र वडा कार्यालयहरूलाई सक्रिय बनाइएको छ। “सफा नगर, स्वस्थ नागरिक” नारासहित उपमहानगरले फोहोर तोकिएको स्थान र समयमा मात्र विसर्जन गर्न नगरवासीलाई आग्रह गरेको छ। अनुमति बिना सडकमा निर्माण सामग्री राख्ने वा सरसफाइ कार्यमा अवरोध गर्नेहरूलाई पनि कडा कारबाही गरिने चेतावनी उपमहानगरले दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय