वीरगन्ज,२४ वैशाख । अभिभावक संघ पर्साले जिल्लाका सबै विद्यालयहरूमा आइतबारको बिदा हटाउन माग गरेको छ। संघले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो। संघका अध्यक्ष सन्दीप साहले प्रमुख जिल्ला अधिकारी भोला दाहाल र महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेलाई ज्ञापनपत्र बुझाएका हुन्।
संघीय सरकारको निर्णयअनुसार अहिले सरकारी कार्यालयसँगै सामुदायिक तथा संस्थागत विद्यालयहरू पनि हप्तामा दुई दिन—शनिबार र आइतबार—बन्द हुँदै आएका छन्। तर, अभिभावक संघले लगातार दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको र पाठ्यक्रम समयमै पूरा गर्न कठिनाइ भइरहेको जनाएको छ।
संघका अध्यक्ष साहका अनुसार आइतबारको बिदाका कारण विद्यार्थीहरू मोबाइल, टिभी र सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्, जसले अध्ययनप्रतिको ध्यान घटाएको छ।
शिक्षा नियमावलीअनुसार विद्यालय वर्षमा कम्तीमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै संघले अतिरिक्त बिदाले शैक्षिक गुणस्तरमा असर पारेको दाबी गरेको छ। अभिभावक संघले शैक्षिक वातावरण सुधार गर्न, नियमित पठनपाठन सुनिश्चित गर्न र विद्यार्थीलाई जिम्मेवार बनाउन आइतबारको बिदा हटाउन सरकारसँग माग गरेको छ।
ज्ञापनपत्र बुझाउने टोलीमा अध्यक्ष सन्दीप साहसहित कोषाध्यक्ष कन्हैया पटेल, अरविन्द वर्णमाला, रविन्द्र गुप्ता, नरेन्द्र तिवारी, सुबोध यादव, हरेन्द्र तिवारी र धिरेन्द्र तिवारीलगायत सहभागी थिए।


