वीरगन्ज,२४ वैशाख । श्रम संस्कृति पार्टी पर्साले जिल्लाभित्रका सुकुम्बासी बस्तीहरूमा डोजर नचलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सालाई ज्ञापनपत्र बुझाएको छ।
हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै पर्सामा सुकुम्बासी बस्ती हटाउने तयारी भइरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरेको हो। पार्टीले अन्य जिल्लामा समेत सुकुम्बासी बस्तीहरूमा बल प्रयोग र डोजर चलाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ।
पार्टीका पर्सा उपाध्यक्ष वासिम शेखका अनुसार ऐलानी, पर्ती तथा सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था बिना हटाउने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
ज्ञापनपत्रमा नेपालको संविधानले सुनिश्चित गरेको आवासको हक उल्लेख गर्दै वैकल्पिक पुनःस्थापनाबिना कुनै पनि नागरिकलाई बसोबासबाट हटाउन नपाइने व्यवस्था रहेको स्मरण गराइएको छ। साथै भूमिहीन तथा सुकुम्बासीको पहिचान र पुनःस्थापनाको दायित्व राज्यको भएको पनि उल्लेख गरिएको छ।
श्रम संस्कृति पार्टीले नागरिकलाई बल प्रयोग गरी विस्थापित गर्नु कानुनी र मानवीय दुवै दृष्टिले अस्वीकार्य हुने चेतावनी दिएको छ। साथै बस्ती हटाउने कार्य रोक्न, यथार्थ तथ्यांक संकलन गर्न, दीर्घकालीन पुनःस्थापनाको योजना बनाउन र कुनै पनि विस्थापनअघि वैकल्पिक आवास सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।


