उच्च अदालतको आदेशपछि नेकपा नेता मनोज चौधरी २ लाख ५० हजार धरौटीमा रिहा हुने

spot_img

वीरगन्ज,२४ वैशाख । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले नेकपा (नेपाली कम्युनिष्ट पार्टी) का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विस्फोटक पदार्थ तथा निर्वाचन सम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका चौधरीलाई उच्च अदालतले जिल्ला अदालत पर्साको पहिलेको थुनामा पठाउने आदेश बदर गर्दै २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न निर्देशन दिएको हो।

उक्त आदेश उच्च अदालतको इजलास नं. १ का न्यायाधीश गोकर्ण डाँगी र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले गरेको हो। सोही मुद्दामा संलग्न अन्य प्रतिवादीहरू सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने जिल्ला अदालत पर्साको आदेश नै सदर गरिएको छ।

चौधरीको पक्षमा अधिवक्ता रामचन्द्र सिंह र सुधिर कुमार कर्णले बहस गरेका थिए भने सरकारी पक्षबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस प्रस्तुत गरेका थिए। गत प्रतिनिधि सभा निर्वाचनका क्रममा पर्सा क्षेत्र नं. २ बाट उम्मेदवार रहेका चौधरीलाई निर्वाचनअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी सवार गाडीबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोपमा उनीसहित चार जनालाई पक्राउ गरिएको थियो।

यसअघि जिल्ला अदालत पर्साले चौधरीलाई थुनामा पठाउने आदेश दिएको थियो भने अन्य तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशप्रति असन्तुष्ट हुँदै चौधरी पक्ष उच्च अदालत पुगेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय