काठमाडौं,२४ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले नेपाली कांग्रेसमार्फत औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेकी छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले कांग्रेसमा आबद्ध भएको घोषणा गरेकी हुन्।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा सहभागी भएको तस्वीर सार्वजनिक गर्दै अन्सारीले अबदेखि सक्रिय राजनीतिमा रहने बताएकी छन्। उनले कांग्रेसले अघि सारेको ‘ल्याटरल इन्ट्री’ अवधारणाले युवाको आकांक्षा सम्बोधन, पार्टी रूपान्तरण र आन्तरिक लोकतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
“प्रजातन्त्र, गणतन्त्र र समाजवादको आधार निर्माण गर्ने पार्टीसँग आजबाट विधिवत रूपमा जोडिएकी छु,” अन्सारीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।
उनले जेन–जी आन्दोलनपछि कांग्रेसभित्र परिवर्तनको संकेत देखिएको र ‘जरा अभियान’मार्फत समाजका विभिन्न वर्गलाई जोड्ने प्रयास भइरहेको पनि बताएकी छन्। प्रशिक्षण प्रतिष्ठानसँग सहकार्य गर्दै पार्टी र देशको हितमा काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको प्रशिक्षण प्रतिष्ठानमा हालै विभिन्न क्षेत्रका ३९ जना सदस्य मनोनयन गरिएको थियो, जसमा अन्सारी पनि समावेश भएकी छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्सारीलाई समानुपातिक उम्मेदवार बनाएको थियो।


