काठमाडौं,२५ वैशाख । नेपालमा कम्पनी दर्ता र खारेजी प्रक्रिया अब छिटो, सरल र पूर्ण रूपमा अनलाइनमार्फत हुने भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालय ले सेवा प्रवाहमा निश्चित समयसीमा लागू गर्दै ‘फेसलेस’ प्रणालीमार्फत काम सुरु गरेपछि व्यवसाय दर्ता र बन्द गर्ने प्रक्रिया सहज बनेको हो।
नयाँ व्यवस्थाअनुसार अब रीतपूर्वक अनलाइन आवेदन परेपछि एक दिनभित्रै कम्पनी दर्ता हुने कार्यालयले जनाएको छ। यसअघि कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गर्न कम्तीमा सात दिनसम्म कुर्नुपर्ने अवस्था थियो।त्यस्तै, लामो समय झन्झटिलो मानिँदै आएको कम्पनी खारेजी प्रक्रिया पनि अब पाँच दिनभित्र टुंगिने व्यवस्था गरिएको छ। आवश्यक कागजात पेश भएपछि पाँच दिनभित्र अन्तिम निर्णय गरिने उप–रजिष्ट्रार तथा सूचना अधिकारी रामप्रसाद ज्ञवालीले जानकारी दिएका छन्।
कार्यालयले २०८२ चैत २२ गतेदेखि दर्तादेखि खारेजीसम्मका सम्पूर्ण सेवा अनलाइनमार्फत सञ्चालन गर्दै आएको छ। यससँगै सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।
कार्यालयका अनुसार प्रत्येक कम्पनीका लागि छुट्टै डिजिटल खाता बनाइएको छ, जहाँ आवश्यक कागजात र विवरण सुरक्षित रूपमा राखिनेछ। साथै बिचौलियाको पहुँच रोक्दै आधिकारिक प्रतिनिधिलाई मात्रै सेवा प्रक्रियामा सहभागी गराउने नीति अपनाइएको छ। हालसम्म नेपालमा ३ लाख ७१ हजारभन्दा बढी कम्पनी दर्ता भइसकेका छन् भने करिब २ हजार ८ सयभन्दा बढी कम्पनी खारेजी प्रक्रियामा गइसकेका छन्।
कार्यालयले सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन कम्पनी निर्देशिका परिमार्जनको कामसमेत अघि बढाएको जनाएको छ। नयाँ प्रणालीले नेपालमा व्यावसायिक वातावरण सुधार हुने र लगानीकर्तालाई सहजता मिल्ने अपेक्षा गरिएको छ।




