वीरगन्ज,२७ वैशाख । वीरगन्ज अन्तर्गत पर्सागढी नगरपालिका–३ बडनिहार बजारमा शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। “जनताको घरदैलोमा चिकित्सक” भन्ने नारासहित सञ्चालन गरिएको उक्त शिविर जूनतारा महिला बचत तथा ऋण सहकारी संस्था को आयोजनामा तथा प्रभु हस्पिटल को सहकार्यमा सम्पन्न गरिएको हो।
शिविरमा कुल २५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा १९० जना महिला र ६० जना पुरुष सहभागी भएका थिए। परीक्षणपछि सबैलाई आवश्यक निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा तथा डा. रविरञ्जन साहले स्वास्थ्य परीक्षण गरेका थिए। डा. साहका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, असहाय, ज्येष्ठ नागरिक र सेवा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।
जूनतारा सहकारीकी अध्यक्ष मञ्जु क्षेत्रीले गाउँमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुँदा स्थानीयवासी उत्साहित भएको बताइन्। आयोजकका अनुसार यस प्रकारका स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।




