spot_img

भेरी अस्पतालमा भ्रष्टाचारको साम्राज्य : मेसुको संरक्षणमा उदय वीर शाहीमाथि अझै भएन कारबाही

spot_img
spot_img

नेपालगञ्ज, बाँके | खोज रिपोर्ट — भेरी अस्पताल भित्रको भ्रष्टाचार, अनियमितता र सेटिङको खेल दिनप्रतिदिन बाहिरिँदै जाँदा पनि मुख्य आरोपितमाथि कारबाही नहुनुले अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ। अस्पतालका तत्कालीन फार्मेसी तथा स्टोर इन्चार्ज उदय वीर शाहीमाथि गतको आगलागी औषधि खरिद, चिकित्सा उपकरण व्यवस्थापन, स्टोर सञ्चालन तथा फार्मेसी प्रमुख हुँदा म्याद गुज्रिएका औषधि डम्पिङ जस्ता विभिन्न विषयमा करोडौँ रुपैयाँको अनियमितता गरेको आरोप लाग्दै आएको भए पनि हालसम्म कुनै ठोस कारबाही प्रक्रिया अघि बढाइएको छैन।

स्रोतहरूका अनुसार अस्पतालका मेसुको प्रत्यक्ष संरक्षण र उच्च तहको पहुँचका कारण शाहीमाथि कारबाही रोकिएको हो। खोज डेस्कलाई प्राप्त प्रमाण र जानकारीअनुसार, भ्रष्टाचारसम्बन्धी फाइलहरू सार्वजनिक हुन थालेपछि उदय वीर शाही अहिले तीव्र दबाबमा छन्। आफू विरुद्धका समाचार रोक्न र विषयलाई दबाउन उनले केही पत्रकार, समाजसेवी तथा राजनीतिक पहुँच भएका व्यक्तिहरूमार्फत आर्थिक प्रलोभनसमेत दिएको आरोप छ। एक स्थानीय पत्रकारले नाम नखुलाउने सर्तमा भने, “समाचार नरोकिए अवस्था बिग्रिन्छ भन्दै आर्थिक सहयोगको प्रस्ताव आएको थियो।”

यसैबीच उदय वीर शाही सरकारी सेवाको नियम विपरीत भारतमा पीएचडी अध्ययन गरिरहेको तथ्यसमेत बाहिर आएको छ। स्रोतका अनुसार उनी भारतस्थित कलेजको नाम मा अध्ययनरत छन्। नेपाल सरकारको स्थायी सेवामा कार्यरत कर्मचारीले उच्च शिक्षा वा पीएचडी अध्ययन गर्न पाउने कानुनी व्यवस्था भए पनि त्यसका लागि सम्बन्धित मन्त्रालय वा कार्यालयको पूर्वस्वीकृति, अध्ययन बिदा वा अध्ययन गर्ने अनुमति अनिवार्य मानिन्छ।

नेपालको निजामती सेवा ऐन तथा नियमावलीअनुसार सरकारी कर्मचारीले अध्ययन बिदा, काज, तलबसहित वा तलबबिनाको बिदा लिएर मात्र उच्च शिक्षा अध्ययन गर्न पाउँछन्। विशेषगरी विदेशमा अध्ययन गर्न जाँदा विभागीय स्वीकृति अनिवार्य हुने कानुनी प्रावधान छ। तर उदय वीर शाहीले आवश्यक स्वीकृति नलिई अध्ययन गरिरहेको आरोप लागेपछि यस विषयले थप गम्भीरता पाएको छ। यदि अध्ययनले सरकारी सेवामा असर पुर्‍याएको पाइए कानुनी कारबाहीसमेत हुन सक्ने व्यवस्था छ।

खोजका क्रममा मेसुका आफन्त स्वास्थ्य मन्त्रालयमै उच्च पदमा रहेको तथ्यसमेत खुलेको छ। स्रोतहरूका अनुसार सोही पहुँच र शक्तिको आडमा मेसु निडर देखिएका छन् भने उदय वीर शाहीलाई “आत्तिनु पर्दैन, सबै मिलाइन्छ” भन्ने आश्वासन दिइरहेको दाबीसमेत गरिएको छ। यस घटनाले भेरी अस्पतालभित्र शक्तिशाली संरक्षण नेटवर्क सक्रिय रहेको आशंका थप बलियो बनाएको छ।

भेरी अस्पतालमा यसअघि भएका आगलागीका घटना, औषधि खरिद प्रक्रिया, चिकित्सा उपकरण खरिद, स्टोर व्यवस्थापन तथा म्याद गुज्रिएका औषधि डम्पिङसम्बन्धी विषयमा उजुरीहरू र स्वास्थ्य मन्त्रालयसम्म पुगेको बताइए पनि अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। स्रोतहरूका अनुसार मेसु र उदय वीर शाहीबीचको शक्तिशाली सेटिङका कारण महत्वपूर्ण फाइल दबाउने र प्रमाण गायब पार्ने प्रयास भइरहेको छ।

नागरिक समाजका अगुवाहरूले भेरी अस्पतालभित्रको अवस्थालाई “संस्थागत भ्रष्टाचारको नमुना” भन्दै कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार भ्रष्टाचारमा मुछिएका कर्मचारीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गर्नुले राज्य प्रणालीमाथिको जनविश्वास कमजोर बनाइरहेको छ। यसको प्रत्यक्ष असर उपचारको आशामा अस्पताल पुग्ने गरिब र विपन्न बिरामीहरूले भोग्नुपरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय