बारा,३० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा बारामा कुल विद्यार्थीमध्ये करिब ४६ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ बाराका अनुसार साधारण र प्राविधिक धार गरी कुल ८ हजार ३ सय ७७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३ हजार ८ सय ९९ विद्यार्थी मात्र ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका हुन्, जुन ४६.५४ प्रतिशत हो।
साधारण धारतर्फ ५ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् भने ४ हजार ४ सय ७८ विद्यार्थी नन्–ग्रेडेड भएका छन्।
प्राविधिक धारतर्फ ३ सय ७६ विद्यार्थी सहभागी भएकामध्ये १ सय ८९ जना (५०.२६ प्रतिशत) उत्तीर्ण भएका छन् भने १ सय ८७ विद्यार्थी नन्–ग्रेडेड भएका छन्।
जिल्लागत ग्रेड विवरणअनुसार ३.६ देखि ४ जिपिए ल्याउने ३०६ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने १ हजार ५४ जना र २.८ देखि ३.२ जिपिए ल्याउने १ हजार ५ सय ३५ जना विद्यार्थी रहेका छन्।
शिक्षा क्षेत्रका सरोकारवालाले जिल्लाको नतिजा अपेक्षाकृत कमजोर देखिएको भन्दै शिक्षण गुणस्तर सुधार गर्न आवश्यक रहेको बताएका छन्।



