स्टोर किपरको भरमा नेपाल रेल्वे, व्यवस्थापन संकट र घाटा बढ्दो

spot_img

जनकपुर,१४ वैशाख । नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वे कम्पनी अहिले नेतृत्वविहीन अवस्थाबाट सञ्चालन भइरहेको छ। सात महिनादेखि प्रबन्धक पद रिक्त हुँदा संस्थाको सम्पूर्ण दैनिक सञ्चालन ‘स्टोर किपर’को भरमा चलिरहेको छ।

हाल दैनिक प्रशासनिक जिम्मेवारी स्टोर किपर केवलबहादुर नेपालीले सम्हालिरहेका छन्। उनका अनुसार निर्णय अधिकार नहुँदा पनि सेवा रोक्न नसकिने भएकाले बाध्य भएर सञ्चालन निरन्तर राखिएको छ।

नेपाल रेल्वे भारतको जयनगरदेखि महोत्तरीको भङ्गहासम्म ५२ किलोमिटर दूरीमा सञ्चालन भइरहेको छ। दैनिक करिब २.५ लाख आम्दानी भए पनि खर्च बढी हुँदा कम्पनी निरन्तर घाटामा गएको छ।

पूर्व व्यवस्थापन विवरणअनुसार मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ हुँदा खर्च १ करोड २९ लाखसम्म पुग्ने गरेको छ। आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म ६७ करोडभन्दा बढी खर्च हुँदा आम्दानी १९ करोड मात्र रहेको तथ्यांकले देखाएको छ।

रेल सञ्चालनमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ भने अहिले पनि महत्वपूर्ण जिम्मेवारी भारतीय कर्मचारीले सम्हालिरहेका छन्। २३ भारतीय कर्मचारीमध्ये चालक, स्टेसन मास्टर र पोइन्ट्सम्यान मुख्य भूमिकामा छन्।

रेल विभागका प्रमुख हरिकुमार पोखरेलले छिटै नयाँ महाप्रबन्धक नियुक्त गर्ने तयारी भइरहेको बताए। साथै कार्गो सेवा सञ्चालन भएमा रेल नाफामूलक बन्न सक्ने उनको भनाइ छ।

स्थानीय व्यवसायीहरूले पनि यात्रुवाहक सेवा मात्रले रेल्वे टिक्न नसक्ने भन्दै कार्गो सेवा आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार ढुवानी सेवा सुरु भए जनकपुर–रक्सौल व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढ्न सक्छ।

तर, स्टेशनको अवस्था, खानेपानी अभाव, फोहोर व्यवस्थापन र पूर्वाधार कमजोर हुँदा सेवा गुणस्तरमा प्रश्न उठिरहेको छ।

विशेषज्ञहरूका अनुसार स्वदेशी दक्ष जनशक्ति उत्पादन, प्रशासनिक सुधार र कार्गो सेवा विस्तार भएमा नेपाल रेल्वे आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने सम्भावना छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय