काठमाडौं,३० वैशाख । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६८७ सवारी चालकलाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट राज्यकोषमा २० लाख ३१ हजार ५०६ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८५ चालक कारबाहीमा परेका छन् । त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६३, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४२ तथा तीव्र गतिमा सवारी चलाउने ११७ जनामाथि पनि कारबाही गरिएको छ ।
यस्तै लेन अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा पार्किङ गर्ने ९८ र एकतर्फी सडकमा सवारी चलाउने १२१ चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ८०४ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई अझ प्रभावकारी बनाइने बताएको छ ।




