वीरगन्ज,३० वैशाख । पर्सा जिल्लामा युरिया मलको चरम अभाव भएपछि चैते धानखेती गरेका किसानहरू चिन्तित बनेका छन् । विशेषगरी बझियान क्षेत्रका किसानहरूले समयमै मल नपाउँदा धानबालीको वृद्धि प्रभावित हुने र उत्पादन घट्ने जोखिम बढेको बताएका छन् ।
पछिल्ला वर्षहरूमा पर्सामा चैते धानखेती तीव्र रूपमा विस्तार हुँदै गएको छ । यस वर्ष मात्रै करिब ४० प्रतिशत किसानहरूले चैते धानखेती गरेको अनुमान गरिएको छ । पहिले गण्डक नहर आसपास र थरुहट क्षेत्रमा सीमित रहेको खेती अहिले बझियान क्षेत्रसम्म फैलिएको हो । स्थानीय तहहरूले डीप बोरिङमार्फत वैकल्पिक सिंचाइ सुविधा विस्तार गरेपछि किसानहरू चैते धानतर्फ आकर्षित भएका छन् ।
तर खेती विस्तारसँगै आवश्यक मल व्यवस्थापन हुन नसक्दा किसानहरू समस्यामा परेका छन् । कृषि सहकारी संस्थाहरूमा समेत मागअनुसार युरिया मल उपलब्ध नभएको किसानहरूको गुनासो छ । नेपालभर नै मल आपूर्ति कमजोर रहेको र सीमावर्ती क्षेत्रमा कडाइ बढेपछि भारतबाट मल ल्याउने विकल्पसमेत कठिन बनेको उनीहरूले बताएका छन् ।
कृषि प्राविधिकहरूका अनुसार चैते धानको उत्पादनका लागि रोपाइँपछि करिब एक महिनाको समयमा युरिया मल अत्यन्त आवश्यक हुन्छ । अहिले अधिकांश खेत यही चरणमा पुगेका छन् । तर मल अभावका कारण धानका पात पहेंलिने, बोट कमजोर हुने तथा उत्पादनमा गिरावट आउने जोखिम बढेको किसानहरूको भनाइ छ ।
कृषि विज्ञहरूले समयमै युरिया प्रयोग हुन नसके छोटो अवधिमा उत्पादन दिने चैते धानमा प्रत्यक्ष असर पर्ने बताएका छन् । उत्पादन घटे किसानको आम्दानीमा समेत असर पर्ने भएकाले तत्काल मल आपूर्ति सहज बनाउनुपर्ने उनीहरूको सुझाव छ ।
स्थानीय किसानहरूले सरकारसँग शीघ्र मल आपूर्ति व्यवस्था मिलाउन माग गरेका छन् । साथै अनुदानमा उपलब्ध हुने मल वितरण प्रणालीलाई प्रभावकारी बनाउन र जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।



