बीरगन्ज,३० वैशाख । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा शैलेन्द्र पाण्डे, सुमना अर्याल, विकास सुनार, बासुदेव श्रेष्ठ, धन बहादुर योङहाङ र नौ माया आले मगर रहेका छन् ।
प्रहरीका अनुसार शैलेन्द्र पाण्डेले सर्विया र स्लोभाकिया पठाइदिने भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रुपैयाँ असुलेका थिए । त्यसैगरी सुमना अर्यालले यूएई, विकास सुनारले स्पेन, बासुदेव श्रेष्ठले क्यानडा, धनबहादुर योङहाङले दक्षिण कोरिया तथा नौ माया आले मगरले साइप्रस पठाइदिने आश्वासन दिएर विभिन्न व्यक्तिबाट रकम उठाएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थान र नवलपरासी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये नौ माया आले मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य पाँच जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



