हेटौँडा,३० वैशाख । मकवानपुर जिल्लामा अनुमति बिना सञ्चालन भइरहेका कन्सल्टेन्सी, भाषा कक्षा तथा शैक्षिक परामर्श केन्द्रमाथि जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ । प्रशासनले यस्ता संस्थालाई तीन दिनभित्र सम्पूर्ण गतिविधि बन्द गर्न निर्देशन दिँदै अल्टिमेटम जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायको अनुमति बिना सञ्चालन भइरहेका शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण केन्द्रहरू गैरकानुनी भएको स्पष्ट पारेको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी का अनुसार अनुमति प्राप्त संस्थाहरूको विवरण प्रशासनसँग भए पनि केही संस्था कानुनविपरीत सञ्चालन भइरहेको गुनासोपछि अनुगमन कडा पारिएको हो । उनले सूचना जारी भएको मितिबाट तीन दिनभित्र सबै अवैध शैक्षिक तथा परामर्श केन्द्रले सेवा बन्द गर्नुपर्ने बताएका छन् ।
प्रशासनले तोकिएको समयसीमाभित्र निर्देशनको पालना नगरे कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ । यस निर्णयपछि मकवानपुरमा सञ्चालन भइरहेका अवैध कन्सल्टेन्सी तथा भाषा कक्षाहरूमा चासो र त्रास दुवै बढेको बताइएको छ ।



