spot_img

रोकिएका सबै रिट तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको कडा निर्देशन

spot_img
spot_img

काठमाडाै,०४ जेठ । सपना प्रधान मल्ल ले सर्वोच्च अदालतमा रोकिएका रिट तथा निवेदनहरू तत्काल दर्ता गर्न निर्देशन दिएकी छन्। कानुन व्यवसायीहरूले अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले हस्तक्षेप गर्दै यस्तो आदेश जारी गरेकी हुन्।

उनले मंगलबारका लागि पेशी तोक्ने गरी सोमबार दिउँसो १ बजाभित्र सबै रिट निवेदन र दरपीठ आदेशविरुद्धका निवेदन समेत दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएकी छन्।

विवादको सुरुवात संवैधानिक परिषद्ले डा. मनोज कुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि भएको थियो। उक्त सिफारिसविरुद्ध कानुन व्यवसायीहरूले रिट दायर गर्न खोज्दा सर्वोच्च अदालतले दरपीठ गरेको थियो। त्यसको विरोधमा दर्ता गर्न खोजिएको अर्को रिटसमेत अस्वीकार गरिएको भन्दै कानुन व्यवसायीहरूले आपत्ति जनाएका थिए।

सोमबार केही कानुन व्यवसायीहरूले प्रत्यक्ष रूपमा कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर न्याय प्रशासनले रिट दर्ता रोकेको गुनासो राखेका थिए। त्यसपछि जारी लिखित आदेशमा मल्लले कानुनले तोकेको प्रक्रिया अनुसार अदालतमा आएका निवेदन रोक्नु न्यायप्राप्तिको अधिकारमाथि अवरोध हुने उल्लेख गरेकी छन्।

आदेशमा उनले अदालतप्रतिको जनविश्वास कमजोर हुने अवस्था सिर्जना हुन नदिन आवश्यक निर्देशन दिनुपरेको बताएकी छन्। साथै, मुख्य रजिष्ट्रारले प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीशकै निर्देशनका कारण रिट दर्ता नगरिएको जानकारी दिएको विषय पनि आदेशमा समेटिएको छ।

संविधान, न्याय प्रशासन ऐन र सर्वोच्च अदालत नियमावलीले दिएको अधिकार प्रयोग गर्दै आफूले आवश्यक आदेश जारी गरेको कामु प्रधानन्यायाधीश मल्लले उल्लेख गरेकी छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय