spot_img

रास्वपाको पर्सा संगठन विस्तारमा आकर्षणसँगै किचलो बढ्दो, नेता सवार गाडीमाथि आक्रमण

spot_img
spot_img

वीरगंज, ४ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा सञ्चालन गरिरहेको संगठन विस्तार अभियानमा मधेश प्रदेशका जिल्लाहरूबाट उल्लेखनीय आकर्षण देखिएको छ। तर, आकर्षणसँगै आन्तरिक किचलो, विवाद तथा गुटगत गतिविधि पनि बढ्दै गएको संकेत देखिएको छ।

रास्वपाभित्र नयाँ र पुराना नेताबीच विवाद र गुटगत खिचातानी देखिन थालेको छ। मधेशका पुराना तथा नयाँ नेताहरूले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रास्वपालाई पहिलो रोजाइको पार्टी बनाएका कारण पनि संगठन विस्तारमा चुनौती उत्पन्न भइरहेको पार्टीकै नेताहरूको भनाइ छ।

पर्सामा पार्टीभित्र नेतृत्व र वर्चस्वको प्रतिस्पर्धा चुलिँदै जाँदा आधा दर्जनभन्दा बढी समूह सक्रिय बनेका छन्। देशभर संगठन सुदृढीकरण अभियानअन्तर्गत सदस्यता वितरण, वडा भेला तथा वडा अधिवेशन सञ्चालन भइरहे पनि पर्सामा भने अभियान अपेक्षित रूपमा एकीकृत ढङ्गले अघि बढ्न सकेको छैन।

पार्टी नेताहरूबीच समन्वय अभाव र आन्तरिक शक्ति संघर्षका कारण वडा तहसम्मका कार्यक्रम प्रभावित भएको आरोप लागेको छ। साथै, टिकटका आकांक्षीहरू धेरै भए पनि गुटगत राजनीतिका कारण संगठन विस्तारका कार्यक्रममा सहभागिता भने न्यून देखिएको छ।

यसैबीच, पर्साको एक कार्यक्रमबाट वीरगंज फर्किने क्रममा पर्सा निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्र र जिल्ला नेता कृष्ण पासवान सवार गाडीमाथि आक्रमण भएको छ। सभापति मिश्राले प्रयोग गर्दै आएको निजी गाडीलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ। मिश्राले आफूलाई हत्या गर्ने उद्देश्यसहित आक्रमण गरिएको भन्दै प्रहरीलाई जानकारी दिएका छन्।

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार गाडीमाथि आक्रमण गर्ने व्यक्तिहरूको पहिचान खुलिसकेको भए पनि उनीहरू फरार रहेकाले पक्राउ गर्न सकिएको छैन। क्षेत्र अन्तर्गतको छिपहरमाई गाउँपालिकाको वडा नं. २ टिहुकीमा आयोजित वडा अधिवेशनमा सहभागी भएर वीरगंज फर्कने क्रममा कालिकामाई गाउँपालिका वडा नं. १ स्थित मुडली पुल नजिक अज्ञात समूहले उनीमाथि आक्रमण गरेको हो । घटना आइतबार राति करिब ८ बजे भएको बताइएको छ ।

पर्सामा भइरहेका गतिविधिबारे पार्टीका सभापति तथा सांसद हरि पन्तले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। उता, आगामी स्थानीय निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदका लागि रास्वपाबाट उम्मेदवारी दिने दाबी गर्दै करिब दुई दर्जन नेता सक्रिय रूपमा देखिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय