काठमाडौँ,२८ कातिक । पूर्वमन्त्री तथा नेता घनश्याम भुसालले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन नहुँदा त्यसका जिम्मेवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै हुने दाबी गरेका छन्।
उनका अनुसार अन्तरिम सरकारले तोकेको निर्वाचन रोक्नुपर्ने कुनै वास्तविक कारण अहिले देशमा छैन। जेन–जी आन्दोलनपछिको राजनीतिक संकटले संसद विघटन भई सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि चुनावको मिति तय गरिएको हो।
पछिल्ला दिनमा राजनीतिक दलहरूले सरकारले निर्वाचनअनुकूल वातावरण तयार पार्न नसकेको भन्दै चिन्ता व्यक्त गर्दै आए पनि भुसालले भने यस्तो बहाना आवश्यक नभएको बताए।
एमालेले संसद पुनःस्थापनाको एजेन्डा लिएर अघि बढिरहेको छ भने नेपाली कांग्रेसभित्र यस विषयमा मत विभाजन देखिन्छ। तर अन्य अधिकांश दलहरू भने तोकिएको मितिमै निर्वाचनमा जाने मनस्थितिमा छन्।
नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चुनावमा जाने उल्लेख गर्दै आफ्नो दल एजेन्डा लिएर पूर्ण रूपमा तयार रहेको बताए।
उनका शब्दमा, “निर्वाचन रोक्ने कुनै अन्य कारण छैन। ओलीजी नै एकमात्र वाधक हो। सबै दलले प्रचारप्रसार सुरु गरिसकेपछि अन्ततः बनिरहेको जनदबाबका कारण उनी पनि चुनावमा सहभागी हुनै पर्छ।”
भुसालले ओली सुरुमा सहज रूपमा चुनावमा नआउने तर राजनीतिक परिस्थितिले बाध्य पार्ने वातावरण बन्ने समेत टिप्पणी गरे।



