बीरगन्ज,०७ जेठ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले सवारी साधनका नम्बर प्लेट दुरुस्त र स्पष्ट बनाउन एक हप्ते विशेष अभियान सञ्चालन गरेका छन्।
सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा सवारी साधनको सहज पहिचान सुनिश्चित गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको हो। अभियान अन्तर्गत विभिन्न स्थानमा विशेष चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा नम्बर प्लेट नराखिएका, मेटिएका वा स्पष्ट रूपमा नदेखिने नम्बर प्लेट भएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई नम्बर प्लेट स्पष्ट रूपमा राख्न/लेख्न निर्देशन दिइएको छ।
ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार अस्पष्ट नम्बर प्लेटका कारण दुर्घटना वा आपराधिक घटनामा संलग्न सवारी साधनको पहिचानमा समस्या हुने भएकाले अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो। कार्यालयले सबै सवारी चालकलाई आफ्ना सवारी साधनमा अनिवार्य रूपमा स्पष्ट नम्बर प्लेट राख्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्रामा सहयोग पुर्याउन अनुरोध गरेको छ।




