बीरगन्ज,२१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यअमरेश कुमार सिंह ले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा समाजमा कायम विभेदप्रति तीखो प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भावनात्मक तथा व्यंग्यात्मक सन्देश सार्वजनिक गर्दै दलित समुदायमाथि अझै पनि व्यवहारमा विभेद भइरहेको यथार्थ औंल्याएका हुन्। उनले लेखेका छन्—दलितको रगत, श्रम, भोट र जवानी स्वीकार्य हुने तर पानी भने अस्वीकार्य हुनु समाजको ठूलो विडम्बना भएको बताएका छन्।
सांसद सिंहका अनुसार समस्या पानीमा नभई मानिसको सोचमा रहेको छ। उनले छुवाछुतलाई दलित समुदायको होइन, समग्र समाजको रोगका रूपमा व्याख्या गर्दै यसको अन्त्यका लागि चेतना परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, उनले दलित बालबालिकाको शिक्षा, स्वास्थ्य र न्यायमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालमा २०६३ साल जेठ २१ गते संसदले देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ सालदेखि हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ। तर, कानुनी व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा अझै विभेद कायम रहेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।




