बीरगन्ज,२५ जेठ । विवादका कारण शनिबार स्थगित रास्वपा पर्साकाे प्रथम जिल्ला अधिवेशन आज हुने भएको छ।
काठमाडौंबाट आएका संगठन विभाग सचिव शंकर श्रेष्ठको मध्यस्थतामा हाेटल भिस्वामा आइतबार दुवै गुटका नेताहरुबीच भएको छलफलमा मतदाता (जिल्ला प्रतिनिधि) नामावली सम्बन्धि विवाद सुल्झिएकाेले अब साेमबार बिहानदेखि जिल्ला अधिवेशनसंगै निर्वाचन प्रकृया पनि सुचारु हुने रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए।उनका अनुसार, साेमबार बिहान ८ बजेदेखि जिल्ला अधिवेशन र निर्वाचन प्रकृया सुरु गर्ने गरि समयतालिका प्रकाशन गरिएको छ।
शनिबार हाेटेल गेट वे बीरगन्जमा आइतबार हुने जिल्ला अधिवेशनका लागि निर्वाचन प्रकृया चलिरहेकै बेला मतदाता (जिल्ला प्रतिनिधि) नामावलीकाे विवादमा दुई गुटबीच हानाहान भएपछि निर्वाचन समितिले निर्वाचन प्रकृया आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेकाे थियाे।त्यसपछि आइतबार बिहान फेरि निर्वाचन समितिका संयाेजक डा. नन्दन यादवले अर्को सुचना जारी गरेर अपरान्ह ३ बजेदेखि निर्वाचन प्रकृया सुचारु गरिने जानकारी दिएका थिए ।तर अपरान्ह ३ बजेदेखि पनि अधिवेशन सुरु हुन सकेन।
पर्सामा पालिका अधिवेशनकै बेलादेखि सुरु भएको रास्वपाभित्रको दुई गुटबीचको विवाद अहिले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा झन् छताछुल्ल भएको थियाे ।
पर्सामा एक गुटको अगुवाई जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् ।उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरु सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन् ।
साेमबार बिहानदेखि सुरु हुने जिल्ला अधिवेशनमा खुल्ला र बन्द सत्रका साथै जिल्लाकाे नेतृत्व चयनका लागि निर्वाचन नै हुने रास्वपा पर्साका एक नेताले बताए ।




