spot_img

बीरगन्जका उद्योगी–व्यवसायी बजेटप्रति असन्तुष्ट, अर्थतन्त्र पुनरुत्थानमा कमजोरीको आरोप

spot_img
spot_img

बीरगन्ज,२५ जेठ । आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सार्वजनिक गरेको बजेटप्रति बीरगन्जका उद्योगी–व्यवसायी तथा विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केही नीतिगत व्यवस्था सकारात्मक भए पनि समग्र अर्थतन्त्रको पुनरुत्थान र निजी क्षेत्रको मनोबल उकास्न बजेट पर्याप्त नभएको उनीहरूको धारणा छ।

देशकै प्रमुख भन्सार नाका तथा औद्योगिक केन्द्र वीरगञ्जका लागि बजेटले विशेष उत्साह नदिएको बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताए। उनका अनुसार दीर्घकालीन आर्थिक समस्याको समाधानतर्फ बजेटले स्पष्ट दिशा दिन सकेको छैन।

उनले ३६० प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने व्यवस्था सकारात्मक भए पनि १४ खर्ब रुपैयाँ राजस्व लक्ष्य र वैदेशिक ऋण संकलनको अनुमान यथार्थपरक नभएको टिप्पणी गरे।

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ बीरगन्जका अध्यक्ष कमलप्रसाद बरालले बीमा अभिकर्ता पेशालाई प्रोत्साहन गर्ने ठोस नीति नआएको भन्दै असन्तुष्टि जनाए। अभिकर्ताको कमिशनमा कर वृद्धि गरिएको निर्णयले साना व्यवसायी थप मारमा पर्ने उनको भनाइ छ।

नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुँगटाले स्वदेशी औषधि उद्योगलाई राहत दिने स्पष्ट नीति नआएको बताए। निजी क्षेत्रका अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द हुनु र भुक्तानी रोकिँदा समग्र स्वास्थ्य क्षेत्र प्रभावित हुने जोखिम बढेको उनले उल्लेख गरे।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले आयकर छुटको सीमा विस्तार र अन्तःशुल्क सुधारलाई सकारात्मक माने पनि अवैध आयात नियन्त्रण र भन्सार नीतिमा स्पष्टता नआएको गुनासो गरे।

संघका उपाध्यक्ष आशीष लाठले कृषियन्त्र तथा पार्टपुर्जामा भन्सार शुल्क बढाइएकाले लागत वृद्धि हुने र त्यसले अवैध आयातलाई प्रोत्साहन गर्न सक्ने चेतावनी दिए।

निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटमा केही सुधार भए पनि अर्थतन्त्रलाई गति दिने स्पष्ट रणनीति र कार्यान्वयनयोग्य योजना अभाव रहेको निष्कर्ष निकालेका छन्। यद्यपि आगामी दिनमा सरकारबाट थप नीतिगत सुधारको अपेक्षा उनीहरूले व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय