रौतहट,२५ जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको १२औँ साधारण सभा पर्यटकीय नगरी सौराहा, चितवनमा भव्य रूपमा सम्पन्न भएको छ। जिल्लाबाहिर पहिलो पटक आयोजित यस साधारण सभाले संगठनात्मक एकता, पत्रकारिता विकास र पेशागत सम्मानलाई केन्द्रमा राखेको सहभागीहरूले बताएका छन्।
चितवनको सौराहास्थित इडेन जंगल रिसोर्टमा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका दुई जना सञ्चारकर्मीलाई विशेष सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी मोहन यादवको पहलमा स्थापना गरिएको ‘स्वर्गीय गौरीशंकर यादव पत्रकारिता पुरस्कार’ र ‘स्वर्गीय गौरीशंकर यादव फोटो पत्रकारिता पुरस्कार’ पहिलो पटक वितरण गरिएको हो।
उक्त पुरस्कारअन्तर्गत दुई दशकभन्दा बढी समयदेखि निरन्तर प्रकाशन हुँदै आएको तराई एक्सप्रेसका सञ्चालक तथा पत्रकार अशोक पहाडीलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। त्यस्तै फोटो पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएका प्रभातकुमार झालाई फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो।
गौरीशंकर यादव फाउन्डेशनका अध्यक्ष मोहन यादवले दुवै पत्रकारलाई जनही ११ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरे। उनले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताए।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीको नेतृत्वमा आयोजित कार्यक्रममा वार्षिक गतिविधि, पत्रकारिताका चुनौती, पेशागत क्षमता अभिवृद्धि र संगठन सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो।
साधारण सभामा सहभागी पत्रकारहरूले यस्तो कार्यक्रमले जिल्लाको पत्रकारितामा नयाँ ऊर्जा थप्ने र पेशागत मनोबल बढाउने विश्वास व्यक्त गरेका छन्।




