काठमाडाैं,२५ जेठ । अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरू चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाले सोमबार सूचना जारी गर्दै जेठ २६ देखि २९ गतेसम्म सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो।
शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ हुनुका साथै स्वास्थ्यमा समेत असर पर्ने जोखिम देखिएकाले बिदा दिइएको हो। जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालासँगको सुझावका आधारमा यो निर्णय गरिएको जनाइएको छ।
निर्देशनअनुसार सो अवधिमा आधारभूत तथा माध्यमिक तहका सबै कक्षाहरूको पठनपाठन स्थगित रहनेछ।
विद्यालय बन्द अवधिमा विद्यार्थीलाई गृहकार्य उपलब्ध गराई स्वअध्ययनमा सहजीकरण गर्न पनि विद्यालयहरूलाई आग्रह गरिएको छ।




