spot_img

बीरगन्ज भन्सारले ११ महिनामा उठायो दुई खर्ब २१ अर्बभन्दा बढी राजस्व

spot_img
spot_img

बीरगन्ज,११ असार । देशकै प्रमुख भन्सार नाकामध्ये एक रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

भन्सार विभागले उक्त अवधिका लागि कार्यालयलाई दुई खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो। सङ्कलित राजस्व लक्ष्यको करिब ८९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

यद्यपि लक्ष्य पूरा हुन नसके पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ। गत आवको पहिलो ११ महिनामा दुई खर्ब तीन अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेकोमा चालु आवमा १७ अर्ब ९७ करोड रुपैयाँ अर्थात् करिब ९ प्रतिशतले वृद्धि भएको देखिएको छ।

भन्सार विभागले चालु आर्थिक वर्षका लागि वीरगञ्ज भन्सारलाई कुल दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिएको छ। आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी रहँदा लक्ष्य प्राप्तिका लागि अझै ठूलो रकम सङ्कलन गर्नुपर्ने अवस्था रहेको छ।

महिनागत विवरणअनुसार साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

त्यसैगरी पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड तथा जेठमा २२ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

आयात–निर्यात गतिविधिमा आएको वृद्धि तथा आर्थिक कारोबारमा देखिएको सुधारका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको भन्सार स्रोतको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय