spot_img

आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

spot_img
spot_img

काठमाडौं,०३ असार । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने नोटको आकार र रंग साविककै राखिएको छ।

राष्ट्र बैंकका अनुसार झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका सिरिजका नोटहरू बजारमा पठाइएको छ। नेपाली नोटको नम्बरिङ प्रणालीअनुसार झ, ञ र ट संकेत अक्षरअन्तर्गत करिब ३० लाख थान नयाँ नोट जारी गरिएको हो।

यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गते ५०० रुपैयाँ दरका २०२० सिरिजका करिब २ लाख ४८ हजार थान नोट प्रचलनमा ल्याएको थियो।

नयाँ नोटका प्रमुख विशेषताहरू

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। तल्लो भागमा ‘सिरिज नम्बर २०८२’ उल्लेख गरिएको छ। दृष्टिविहीन तथा फरक क्षमता भएका व्यक्तिहरूले स्पर्शमार्फत नोटको दर पहिचान गर्न सकून् भनेर पानीछापको बायाँपट्टि दुईवटा कालो थोप्ला राखिएको छ।

सगरमाथाको चित्रको दायाँपट्टि रहेको अण्डाकार आकृतिभित्र कुबेरको चित्र समावेश गरिएको छ, जुन सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

नोटमा ३.५ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसको रंग पनि हेर्ने कोणअनुसार रातो र हरियो देखिने व्यवस्था गरिएको छ। नोटको पछाडिको भागमा पाटेबाघको चित्र छापिएको छ। साथै विभिन्न सुरक्षा तथा पहिचान सम्बन्धी संकेतहरू पनि समावेश गरिएका छन्।

राष्ट्र बैंकले नयाँ नोटहरू आधुनिक सुरक्षा विशेषतासहित जारी गरिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय