जनकपुर,०३ असार । मधेस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएको तथ्य सार्वजनिक भएको छ। पछिल्लो एक वर्षमा मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित घटनाका कारण १ हजार २९८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
मङ्गलबार जनकपुरधाममा आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा बैठकमा प्रस्तुत तथ्यांकअनुसार मृत्यु हुनेमध्ये १ हजार १०६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने १९२ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र टिओपी नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्य समस्या मधेस प्रदेशका लागि गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिएको निष्कर्ष निकालिएको थियो।
कार्यक्रम उद्घाटन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद शाहले मानसिक स्वास्थ्य समस्या बढ्दै जानु चिन्ताजनक विषय भएको बताए। उनले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा जोड दिन आवश्यक रहेको उल्लेख गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले करिब ६४ लाख जनसंख्या रहेको मधेस प्रदेशमा सरकारी तथा निजी क्षेत्र गरी जम्मा १० जना मात्र मानसिक स्वास्थ्य विशेषज्ञ चिकित्सक रहेको जानकारी दिए। विशेषज्ञ जनशक्तिको अभावले उपचार सेवा प्रभावकारी रूपमा विस्तार गर्न चुनौती थपिएको उनले बताए।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका मधेस प्रदेश प्रमुख डा. नरेन्द्रकुमार मिश्रले मानसिक स्वास्थ्य समस्याका कारण हरेक वर्ष करिब १,३०० जनाको मृत्यु हुनु अत्यन्तै गम्भीर अवस्था भएको उल्लेख गर्दै प्रत्येक स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १३६ स्थानीय तहमध्ये सामी परियोजनाको सहयोगमा हाल ९३ पालिकामा मनोसामाजिक परामर्शदाता परिचालन गरिएको छ। साथै मानसिक स्वास्थ्यसम्बन्धी अत्यावश्यक औषधि पनि उपलब्ध गराइँदै आएको छ।
स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, उपचार सुविधाको सुदृढीकरण तथा जनचेतना अभिवृद्धिका उपायबारे व्यापक छलफल गरिएको थियो।




