बुटवल,०३ असार । एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२, भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनलाई मंगलबार राति उनकै निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो चैत महिनामा रमेशको घरनजिक रहेको बासघारी क्षेत्रमा खिचिएको थियो।
सार्वजनिक भिडियोमा एक २१ वर्षीया युवतीमाथि रमेश ठाडा मगरले गालीगलौज गर्दै चक्कु देखाएर कुटपिट गरेको दृश्य देखिन्छ। भिडियोमा युवती रुँदै आफूबाट गल्ती नदोहोऱ्याउने भन्दै अनुरोध गरिरहेको सुनिन्छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै घटनासँग सम्बन्धित अन्य तथ्य र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।




