
जनकपुरधाम, कार्तिक ६ । दशैंमा तराई–मधेशका विभिन्न दुर्गा पुजा हुने स्थानहरुमा साँझ र रातीसम्म लोक गीतमा नित्य हुनेगर्दछ।
दसैंको बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई ‘झिझिया’ गीत भनिन्छ।
साउण्ड बक्समा बज्ने यो गीतले सबैलाई झुमाइ रहेको हुन्छ। दसैं सुरु भएलगत्तै तराई–मधेशमा भिझिया गीत र नृत्य गाउँ र सहरमा सुत्र र हेर्न सकिन्छ।
साना-प्वाल पारिएको तीनदेखि चारवटा माटोको घाइला भित्र बल्दै गरेको दिप र त्यो माटोको घाइला टाउकोमा राखी महिलाहरु झिझिया गीतमा नृत्य गरिरहेको दृष्यले सबैलाई झुमाइ रहेको हुन्छ।
मिथिलामा सुनाउँदै आएको प्राचीन कथा किबदन्ती अनुसार भिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ।
छैठौं सताब्दीदेखि ११ औं सताब्दीसम्मको समय तन्त्र शक्तिको प्रभाव रहेकाले त्यहिबेलादेखि भिझियाको प्रारम्भ भएको जनविश्वास रहेको छ।
समाजमा तन्त्र विधा हावी रहेकोबेला ‘बोक्सी’को टुनामुनाको प्रभाव बालबालिकामा परेको भन्दै त्यसलाई अन्त्य गर्न झिझिया नृत्यको शुरुवात भएको बताइन्छ।
तन्त्र शक्तिबाट बालबालिकामाथि खतरा बढ्न थालेपछि महिलाहरुले आफ्ना सन्तानलाई जोगाउन यो नृत्यको सुरुवात गरेका हुन्।

देवी उपासनाको एउटा पक्षको रुपमा लिइने यस नृत्यमा महिलाहरूबाट सुरुवात गरिएको यस नृत्यबाट तान्त्रिक शक्ति परास्त भएको विश्वास रहेको छ।
ग्रामीण क्षेत्रमा रहेको ब्रम्ह स्थान (डिहबार) पुगी मन्त्र सिद्ध गर्ने गरिन्छ भने गीत गाएर देवीको रुप श्रृंगार र ब्रम्हको वर्णन गरी खुसी पारिन्छ।
दशैंमा बज्ने यो झिझिया गीतमा पनि देवी र ब्रम्हको वर्णन गरिएको हुन्छ।

यस नृत्यमा महिलाहरु तन्त्र शक्तिबाट बच्न घेरा हाल्ने गर्दछन् र बीचमा एक महिला साना-साना प्वाल परेको घाइला भित्र बलिरहेको दियो राखेर घइलालाई टाउकोमा राखी नित्य गर्दछन्।
अन्य महिला गीतको माध्यमबाट ‘बोक्सी’लाई गाली गर्ने गर्दछन्।
माटोको घाईलामा भएको प्वाल बोक्सीले गने त्यसको मृत्यु हुने जनविश्वास रहेको छ। गाली गर्दा सहन नसकी महिलाहरुसँग झगडा गर्ने र बोक्सीको पहिचान हुने जनविश्वास किब्दन्ती रहेको छ।
जनकपुरधाममा पनि विभिन्न दुर्गा पुजा हुने स्थानहरुमा यो झिझिया नित्य गरिन्छ। जनकपुरको विभिन्न शक्तिपीठहरु राजदेवी माता, बौधि माता, दक्षिणकाली माता, भैरब मंदिर, सोनशक्ति मन्दिर, तथा विभिन्न दुर्गा पण्डालहरुमा झिझिया नित्य गर्दछन्।
“अ-सत्य माथि सत्यको जीत” भने जस्तै दानव शक्तिमाथि देवीशक्तिको जीतको रूपमा पनि यसलाई लिने गरिन्छ।

