काठमाडौँ,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी ले तोकिएको समयभन्दा अगावै प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह लाई ४५ पृष्ठको प्रतिवेदन बुझाइएको जानकारी दिएका छन्। उनले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि सुझाव दिइएको बताएका छन्।
स्रोतका अनुसार प्रतिवेदनमा गुरुङको बयान मात्रै १७ पृष्ठमा समेटिएको छ। आरोपसम्बन्धी विषयमा पर्याप्त प्रमाण संकलन गरी सम्बन्धित निकायसँग सोधपुछ, साथै सम्पत्ति विवरणको विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको जनाइएको छ।
मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार गठित समितिमा भण्डारीको संयोजकत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
छानबिनका क्रममा गुरुङ र व्यवसायी दीपक भट्टबीच साझेदारी सम्बन्ध देखिएको तथा सम्पत्ति विवरणमा केही विवरण लुकाएको आरोपबारे अध्ययन गरिएको थियो। यिनै आरोपपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
सरकारले अब प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।




