काठमाडौँ,०३ असार । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छन्। प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य बीमा प्रणालीलाई अझ प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक भएको बताइन्।
मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउन आधारभूत स्वास्थ्य सेवालाई बीमा प्रणालीबाट अलग गर्ने प्रस्ताव अघि सारिएको छ। साथै, सबै संगठित क्षेत्रहरूमा अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिइन्।
उनले सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतको बीमा प्रणालीलाई साविकको स्वास्थ्य बीमा संरचनासँग एकीकृत गर्ने विषयमा पनि नीति स्तरमा काम भइरहेको स्पष्ट पारिन्।
मन्त्री मेहताले सांसद तथा सरोकारवाला सबै पक्षलाई आवश्यक सुझाव दिन आग्रह गर्दै स्वास्थ्य बीमा सुधारलाई सरकारको प्राथमिकतामा राखिएको बताइन्। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वास्थ्य क्षेत्रका लागि अझ प्रभावकारी र सुधारमुखी रहेको दाबी पनि गरिन्।




