वीरगन्ज,०१ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागेको छ ।
लिग चरणको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ६ विकेटले हराएपछि सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, र कर्णाली याक्सले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।
कर्णालीले काठमाडौँ गुर्खाजलाई रन रेटमा पछि पार्दै हारको बाबजुद ८ अङ्कका साथ प्लेअफमा स्थान बनायो। सुदूरपश्चिमले लक्ष्य १२.२ ओभरभित्र भेटेको भए काठमाडौँले अन्तिम चारमा स्थान बनाउन सक्थ्यो । तर, सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य पूरा गर्न १५.२ ओभर लागेकोले काठमाडौँ प्रतियोगिताबाट बाहिरियो। विराटनगर किङ्गस, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स पनि लिग चरणमै रोकिएको हो ।
सुदूरपश्चिम १२ अङ्कसहित शीर्ष स्थानमा रहेर जनकपुर बोल्ट्स (१० अङ्क) विरुद्ध पहिलो क्वालिफायर खेल्नेछ । चितवन राइनोज र कर्णाली याक्सले इलिमिनेटर खेल्ने भएका छन् । दुवै खेल बुधवार हुनेछन् ।
पहिलो क्वालिफायरको पराजित टोलीले इलिमिनेटर विजेतासँग बिहीबार दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल भने शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ ।




