काठमाडौं,०४ असार । पासपोर्ट खरिद प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेलमार्फत आफ्नो धारणा पठाएकी छिन्।
अख्तियार स्रोतका अनुसार उनको नामबाट बुधबार आयोगको आधिकारिक इमेलमा पठाइएको सन्देशमा आफू हाल उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने उल्लेख गरिएको छ। साथै उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि इमेलमा बताएकी छन्।
यसअघि अख्तियारले बयानका लागि तीन दिनभित्र उपस्थित हुन भन्दै काठमाडौंको बूढानीलकण्ठस्थित उनको घरमा म्याद तामेल गरेको थियो।प्रकरणमा अनुसन्धान अघि बढाउँदै अख्तियारले आरजु राणाको भूमिकाबारे पनि छानबिन गरिरहेको छ। यद्यपि प्राप्त कागजातहरूमा तत्कालीन परराष्ट्रमन्त्रीको प्रत्यक्ष लिखित निर्देशन वा निर्णय देखिएको छैन।
तर, अनुसन्धान स्रोतका अनुसार ठेक्का प्रक्रियाको डिजाइन, प्याकेज निर्माण तथा ठेकेदारबीच समन्वयमा राजनीतिक तहको संलग्नता भएको आशंकामा अनुसन्धान केन्द्रित छ। उजुरीहरूमा आरजु राणासँगै उनका छोरा जयवीर देउवाको नामसमेत जोडिएको छ।
राहदानी विभागको इ–पासपोर्ट ठेक्का प्रक्रियामा प्राविधिक मूल्यांकनमा त्रुटि भएको दाबी पनि गरिएको छ। टेन्डरमा ब्लेड सर्भरको सर्त भए पनि र्याक सर्भर प्रस्ताव गर्ने कम्पनीलाई स्वीकार गरिएको विषयलाई समेत अनुसन्धानमा समेटिएको छ।




