वीरगन्ज,०४ असार । उपभोक्ता हित संरक्षण मञ्च नेपालले वीरगन्जका मासु तथा माछा पसल व्यवस्थित गर्न अदालतले दिएको आदेश कार्यान्वयन गर्न वीरगन्ज महानगरपालिकासँग माग गरेको छ।
मञ्चका स्थानीय प्रतिनिधि अजय अधिकारीले उच्च अदालत जनकपुर (अस्थायी इजलास)ले करिब चार वर्षअघि दिएको आदेश अझै कार्यान्वयन नभएको भन्दै त्यसको प्रतिलिपि सार्वजनिक गरेका छन्। उक्त आदेशमा मासु तथा माछा बजारलाई व्यवस्थित गर्न, सरसफाइ र खाद्य सुरक्षामा सुधार गर्न निर्देशन दिइएको थियो।
मञ्चका अनुसार सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा स्थानीय सरकारले पर्याप्त चासो नदिएपछि यसअघि अदालतमा रिट दायर गरिएको थियो। सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले व्यवस्थापन सुधारका लागि आदेश जारी गरेको थियो।
तर, पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट ठोस कार्यान्वयन नभएको मञ्चको गुनासो छ। मञ्चले यो विषय जनस्वास्थ्यसँग जोडिएको महत्वपूर्ण मुद्दा भएकाले आम नागरिकलाई जानकारी गराउन आदेश सार्वजनिक गरिएको जनाएको छ।
मञ्चले वीरगन्ज महानगरपालिकालाई मासु तथा माछा बजारको व्यवस्थापन सुधार, नियमित सरसफाइ, खाद्य गुणस्तर नियन्त्रण तथा प्रभावकारी अनुगमन प्रणाली लागू गर्न तत्काल पहल गर्न आग्रह गरेको छ।




