सर्लाही,०४ असार । सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित एक व्यवसायिक गोदामबाट अवैध रूपमा भण्डारण गरिएको ७५ बोरा फर्सीको बीउ बरामद गरिएको छ।
स्थानीय नवीनकुमार यादवको दिनकर सेल्स सप्लायर्समा राखिएको बीउ सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जेठ ३ गते राति गोदाममा छापा मारिएको थियो। कारबाहीका क्रममा केही स्थानीय व्यक्तिहरू भेला भएर विरोध गर्दै ढुंगामुढामा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।
ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको एउटा ट्रकमा सामान्य क्षति पुगेको बताइएको छ। बरामद गरिएको फर्सीको बीउ आवश्यक कानुनी प्रक्रियाका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।




