spot_img

बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारको विशेष तयारी

spot_img
spot_img

काठमाडौं,०४ असार । सरकारले यस वर्षको मनसुनजन्य विपद्को सामना गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकायहरू परिचालन गरिसकेको जानकारी दिए।

उनका अनुसार मनसुनका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित निकायहरूलाई थप सक्रिय र जिम्मेवार ढंगले काम गर्न निर्देशन दिइएको छ। जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक परे उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्ने योजना समेत तयार गरिएको मन्त्री गुरुङले बताए।

सडक अवरुद्ध हुने सम्भावित क्षेत्रहरूमा तत्काल सञ्चालन गर्न सकिने गरी आवश्यक उपकरण र पूर्वाधारको व्यवस्था मिलाइएको पनि उनले उल्लेख गरे। साथै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा नागरिकको सेवामा समर्पित भएर काम गर्न र कानूनविपरीत गतिविधि गर्ने जो–कोहीलाई पनि छुट नदिन निर्देशन दिइएको जानकारी दिए।

बैठकपछि प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले यस वर्षको मनसुन पूर्वतयारीबारे विस्तृत छलफल भएको बताए। मौसमविद्हरूको अनुमानअनुसार यस वर्ष औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा छोटो समयमा अत्यधिक वर्षा हुन सक्ने भएकाले त्यसअनुसार तयारी गरिएको उनले बताए।

उनका अनुसार गृहमन्त्रीले सबै निकायलाई विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब ५१ हजार ८६८ घरधुरी प्रभावित हुने तथा २ लाख २६ हजार ६६१ जना प्रत्यक्ष असरमा पर्न सक्ने अनुमान गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय