काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई आगामी तीन वर्ष सहज ढंगले सञ्चालन गर्न दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
शनिबार अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै उनले सरकारको यो अवधिको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेस र नेकपा एमालेले लिनुपर्ने बताए। थापाले यसअघिका गठबन्धन सरकारहरूले गरेका कामको जिम्मेवारी कसैले नलिन खोज्दा जनतामा अन्योल देखिएको उल्लेख गरे ।
उनले सरकारमा रहँदा राम्रो भन्ने र बाहिरिएपछि आलोचना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। “गठबन्धनको सरकारले गरेका कामको जिम्मा नलिने प्रवृत्ति अब तोड्नुपर्छ,” थापाले भने ।
महामन्त्री थापाले आगामी तीन वर्षभित्र जनताले देखिने गरी काम गर्नुपर्ने र त्यसको आधारमा २०८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न कांग्रेस र एमालेको दायित्व रहेको बताए।
संघीयताका विषयमा गलत टिप्पणी भइरहेका विषयमा प्रतिक्रिया दिँदै थापाले समस्या प्रदेशमा नभई संघमा देखिएको बताए। उनले तीनै तहका सरकारले एकअर्काको अधिकार खोस्ने प्रवृत्ति त्याग्नुपर्ने आवश्यकता औंल्याए ।

