राष्ट्रिय सभामा राजावादी गतिविधिको चर्को आलोचना, नियन्त्रण गर्न सरकारलाई आग्रह

spot_img

काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि राष्ट्रिय सभामा चर्को आलोचनाको विषय बनेको छ। आइतबारको बैठकमा सांसदहरूले राजतन्त्र पुनःस्थापनाको प्रयासप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई यस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले लोकतान्त्रिक गणतन्त्र लामो संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको रक्षा गर्न परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने बताइन् । उनले ‘हामीले परास्त गरिसकेको राजतन्त्र फेरि ब्यूँतिने प्रयास गर्दैछ’ भन्दै सचेत रहन सबैलाई आह्वान समेत गरिन् ।

सांसद उदयबहादुर बोहराले पछिल्लो समय विभिन्न सहरमा भइरहेका नाराजुलुसहरू लोकतन्त्रविरोधी भएको भन्दै सरकार यस विषयमा गम्भीर नदेखिएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै गलत प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कदम चाल्न आग्रह समेत गरे। नेपाली कांग्रेसका सांसद युवराज शर्माले पूर्वराजाको सक्रियता र व्यवस्था विरोधी गतिविधिहरू कम गर्न संविधानको पूर्ण पालना गर्दै सुशासन कायम गर्नुपर्ने बताए । यदि सरकार प्रभावकारी रूपमा अघि बढेमा राजावादी अभियान स्वतः कमजोर हुने उनको धारणा थियो ।

त्यस्तै, माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले राजावादी गतिविधि अराजकतापूर्ण भएको भन्दै सरकारलाई तत्काल नियन्त्रण गर्न चेतावनी समेत दिए । उनले ‘राजा फर्काउने नाममा जुन ढंगको नाटक मञ्चन भइरहेको छ, त्यसलाई सरकारले तुरुन्त रोक्नुपर्छ’ भन्दै कडा प्रतिक्रिया दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय