जनकपुर,२७ फागुन । जलेश्वर भन्सार कार्यालय, भिठ्ठामोडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा रु २ अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व संकलन गरेको छ। यो लक्ष्यको ४७.४१ प्रतिशत मात्र हो।

भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकका अनुसार चालु आर्थिक वर्षका लागि रु ४ अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व संकलन गर्ने लक्ष्य थियो। तर, हालसम्म ८३.८९ प्रतिशत मात्र राजस्व उठेको छ।
महिनागत विवरणअनुसार साउनमा ९२.१६ प्रतिशत, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनमा हालसम्म ८०.४४ प्रतिशत राजस्व संकलन भएको छ।
सूचना अधिकारी विकका अनुसार कुल राजस्वमध्ये ४९.१४ प्रतिशत पेट्रोलियम पदार्थबाट उठ्ने गरेको छ। तर, भारतको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि जलेश्वर भिठ्ठामोड नाकाबाट पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ, जसले राजस्व लक्ष्यमा असर पुर्याएको छ।
भन्सार कार्यालयका अनुसार चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चूनाको आयात घटेको छ। जलेश्वर भन्सार नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, कोइला, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायतका वस्तु आयात हुने गरेका छन्।