बीरगन्ज,१७ वैशाख । पर्सा क्षेत्र नम्बर–१ का सांसद हरी पन्त सवार गाडी बारा जिल्लामा दुर्घटनामा परेको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवक घाइते भएका छन्।
बुधबार बेलुकी करिब ४ बजे बीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको बा.१६ च ८२०६ नम्बरको कार जीतपुर सिमरा–७ स्थित गढीमाई मन्दिर नजिकै विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया–७ का २० वर्षीय नवलकिशोर यादव र पछाडि सवार कलैया–१३ का १७ वर्षीय जितेन्द्र यादव घाइते भएका छन्। कार चालक वीरगञ्ज–११ निवासी ५२ वर्षीय मोहनलाल राउत रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई सांसद पन्तले आफ्नै गाडीमार्फत सिमरास्थित अस्पताल पुर्याएका थिए। उपचारपछि एक जना घर फर्किसकेका छन् भने अर्का एक जनाको उपचार जारी रहेको छ।
दुर्घटनामा कारको अगाडिको भागमा ठूलो क्षति पुगेको छ भने मोटरसाइकल पनि क्षतिग्रस्त भएको छ। सांसद पन्त भने सकुशल रहेको जनाइएको छ।
प्रहरीका अनुसार दुवै पक्षबीच आपसी सहमति भएपछि कार सांसद पन्तले जिम्मामा लगेका छन् भने मोटरसाइकल जीतपुर प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ।

