काठमाडौं,२८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखिएको आधारमा मात्र चेक अनादरको मुद्दा दर्ता नहुने स्पष्ट पारेका छन्।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै श्रेष्ठले कानूनी प्रक्रियाबारे स्पष्ट पारे। उनका अनुसार, यदि चेकमा गल्ती भएर गलत रकम लेखिएको भए, त्यसलाई सच्याउन ३० दिनको समय दिइने कानूनी व्यवस्था छ।
श्रेष्ठले भने, “केवल गलत रकम लेखिएको कारणले चेक अनादरमा पर्दैन। कानूनी रूपमा ३० दिनभित्र गल्ती सुधार्ने समय छ, त्यस अवधिमा सच्याउन सकिन्छ।”
उनले चेक अनादरसम्बन्धी जरिबाना, कारबाही र अन्य कानूनी व्यवस्थाहरू पहिल्यै सुनिश्चित भइसकेको बताए।