स्ववियू निर्वाचनको मतगणना अन्योलमै, निर्वाचन समिति र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न

spot_img

वीरगंज, ९  चैत – वीरगंजस्थित नर्सिङ क्याम्पस र ठाकुरराम बहुमुखी क्याम्पसमा गत ५ गते सम्पन्न स्ववियू निर्वाचनको मतगणना प्रक्रिया अझै अन्योलमै रहेको छ। मतगणना सुरु भएको केही समयमै स्थगित गरिएको थियो, तर चार दिन बित्दा समेत प्रक्रिया सुचारु हुन सकेको छैन।

निर्वाचनको नतिजा सार्वजनिक हुन ढिलाइ हुँदा निर्वाचन समिति र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। मतगणनामा धाँधली तथा गम्भीर त्रुटी भएको भन्दै विद्यार्थी संगठनहरूको विरोधका कारण गणना रोकिएको थियो। मतगणना पुनः सुचारु गर्न पटकपटक छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन।

दुवै क्याम्पसका विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुखको राजीनामा र निर्वाचन खारेजीको माग गर्दै आएका छन्। मतगणना पुनः सञ्चालन गर्ने विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा विद्यार्थी संगठन र निर्वाचन समिति पदाधिकारीहरूबीच शुक्रबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो, तर कुनै निष्कर्ष निस्कन सकेन।

छलफलपछि प्रमुख जिल्ला अधिकारी अर्यालले मौखिक सहमति जुटेको दाबी गरे पनि विद्यार्थी संगठनहरूले उनको भनाइलाई खण्डन गरेका छन्। माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका १० विद्यार्थी संगठनका नेताहरू शुक्रबार बेलुका ठाकुरराम क्याम्पस मुख्य गेटमा क्याम्पस प्रमुखको पुतला दहन गर्दै विरोध प्रदर्शनमा उत्रिए। उनीहरूले प्रशासनले जबरजस्ती गरे थप आन्दोलन गर्ने चेतावनीसमेत दिए।

यता, नर्सिङ क्याम्पसमा मतगणना सुचारु गर्ने विषयमा छलफल गर्न सबै विद्यार्थी संगठनका नेताहरूलाई बोलाइएको निर्वाचन अधिकृत अन्जु महतोले जानकारी दिइन्। उनले मतगणना कहिलेदेखि सुरु हुने भन्ने यकिन नभएको बताउँदै प्रक्रिया अघि बढाउने प्रयास भइरहेको जनाइन्।

प्रमुख जिल्ला अधिकारीसँग समेत मतगणना विषयमा निरन्तर छलफल भइरहेको निर्वाचन अधिकृत महतोले जानकारी दिइन्। अब मतगणना प्रक्रिया अघि बढ्ने वा पुनः विवाद बढ्ने भन्ने अन्योल कायमै छ।

यसैबीच, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठाकुरराम क्याम्पसको मतगणना सुचारु गर्ने विषयमा करिब-करिब सहमति भइसकेको उल्लेख गर्दै, विद्यार्थी संगठनहरूले फर्जी विद्यार्थीबारे उजुरी दिएको जानकारी गराए। उनले उजुरीमाथि अनुसन्धान गरी दोषी प्रमाणित भए कारबाही गर्ने विषयमा स्थानीय प्रशासन गम्भीर रहेको स्पष्ट पारे।

तर, विद्यार्थीहरूले एकातिर सहमति जनाउने, उजुरी दिने र अर्कोतर्फ पुतला दहन गर्दै विरोध प्रदर्शन गर्ने दोहोरो चरित्र देखिएको प्रजिअ अर्यालले  टिप्पणी गरे। उनले सम्भव भएसम्म दुवै पक्षलाई मिलाएर जाने प्रयास गरेको उल्लेख गर्दै, यदि सहमति हुन नसके कानुनी प्रक्रिया अपनाएरै अगाडि बढ्ने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय